काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार काठमाडौंमा नगरअधिवेशन हुँदैछ।
एक महानगर र १० नगरपालिका रहेको काठमाडौंमा आज अधिवेशन हुने भएको हो। दक्षिणकाली नगरपालिकाबाहेक सबै नगरमा अधिवेशन हुने कांग्रेसले जनाएको छ। दक्षिणकाली नगरपालिकाको एक वडामा अधिवेशन नभएकाले त्यहाँ अर्को मितिमा नगरअधिवेशन हुने कांग्रेसको निर्वाचन समितिले जनाएको छ।
संघीय राजधानी समेत रहेको काठमाडौंका अधिकांश पालिकामा मतदानबाटै नेतृत्व चयन हुने देखिन्छ। पार्टीको केन्द्रमा प्रष्ट तीन गुट देखिएपनि काठमाडौंमा भने दुई समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ।
काठमाडौंको संस्थापन भनेर पूर्वमहामन्त्री प्रकाशमान सिंहको समूहलाई चिनिन्छ। अघिल्ला महाधिवेशनमा उनलाई भीमसेनदास प्रधान र गगन थापाहरुको समूहले चुनौती दिने गरेको थियो।तर यो पटक आन्तरिक समीकरण बदलिएको छ।
प्रधान सभापति शेरबहादुर देउवा समूहसँग नजिक छन् भने थापा, प्रकाशमानतिर। काठमाडौंका कतिपय नगरको सभापतिका लागि प्रकाशमान समूहकै नेताहरुबीच प्रतिस्पर्धा हुने देखिएको छ।
१५ वर्षपछि काठमाडौं महानगरपालिकामा कांग्रेसको अधिवेशन हुन लागेको हो। विवादका कारण काठमाडौं महानगरपालिकामा १२औं र १३औं अधिवशेन भएका थिएनन्। डेढ दशकपछि कांग्रेस काठमाडौं महानगर कमिटीले नयाँ नेतृत्व पाउन लागेको हो। महानगरको अधिवेशन कांग्रेसभित्र प्रतिष्ठाको विषय बनेको छ।
देशकै सबैभन्दा ठूलो महानगरपालिकाको नेतृत्वका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ। काठमाडौं महानगरको नेतृत्वका लागि १५ वर्षपछि हुन लागेको निर्वाचनमा संस्थापन समूहबाट युवा नेता प्रगतिमान रञ्जितले प्रतिस्पर्धामा छन्।
महानगर सभापतिमा अर्का प्रत्यासी कांग्रेसका पुराना नेता नीलकाजी शाक्य छन्। काठमाडौं महानगरपालिका- २५ का वडाध्यक्ष शाक्य पूर्वमहामन्त्री सिंहका उम्मेदवार हुन्।