म्याग्दी । कोरलानाका जोड्ने बेनी–जोमसोम–कोरला सडक मर्मतको काम अन्तिम चरणमा पुगे पनि नियमित, सहज र सुरक्षित यातायात सञ्चालनमा चुनौती देखिएको छ ।
चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको कोरलानाका जोड्ने २०२ किलोमिटर लामो बेनी–जोमसोम–कोरला सडक यही असोज ८ देखि ११ गतेसम्मको बाढीपहिरोका कारण क्षतिग्रस्त बनेको थियो ।
विभिन्न ५० ठाउँमा पहिरो खसेको, भासिएको र १० ठाउँमा कालीगण्डकी नदीको कटानले बगाएको सडक मर्मतकार्य अन्तिम चरणमा पुगेको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ कुनौटा भिर र अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरस्थित सडक पुलको पहुँचमार्ग तयार भएर बिहीबार साँझ अत्यावश्यक सवारीसाधन वारपार गरेका छन् । कालीगण्डकीको बाढीले बगाएको कुनौटाको सडक र पोखरेबगर पुलको पहुँचमार्ग निर्माणमा चुनौती देखिएको थियो ।