काठमाडौं। नेपाली कांग्रेस (बीपी) को उप-सभापतिमा विष्णुप्रसाद ढकाललाई मनोनयन गरिएको छ। पार्टीको हालै बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई उप-सभापतिमा मनोनयन गरेको गरेको पार्टीले जनाएको छ।
भदौ ३० देखि असोज १ गतेसम्म भएको विशेष महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो। विशेष महाधिवेशनले सुशीलमान शेरचनलाई सभापतिमा चयन गरेको छ। उप-सभापतिमा मनोनीत भएका ढकाल विशेष महाधिवेशनमा केन्द्रीय सदस्य बनेका थिए।
ढकाल झण्डै ४५ वर्षअघिबाट राजनीतिमा सक्रिय छन्। ढकालले पार्टी विस्तारमा महत्वपूर्ण योगदान गरेकाले पनि उनलाई उप-सभापति बनाइएको पार्टीले जनाएको छ। ढकाल नेपाली कांग्रेसको राजनीतिबाट उदाएका हुन्।
उनी काठमाडौंको धर्मस्थली गाउँ विकास समिति रहँदा पार्टीको ५ पटकसम्म सभापति भइसकेका छन्। उनी पार्टीको महासमिति सदस्य पनि भइसकेका छन्। नेपाली कांग्रेसले आफ्नो विचार र सिद्धान्त छोडेकाले आफूहरुले नयाँ पार्टी खोलेर त्यही विचारलाई आत्मसात गर्दै अघि बढेको उनको भनाई छ।
उनले उप-सभापति भइसकेपछि भने ‘नेपाली कांग्रेस (बीपी) लाई गाउँ गाउँसम्म लाने मेरो योजना हो, त्यो भिजन मसँग छ।’ उनले पार्टीले दिएको जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्ने जनाएका छन्।