आइतवार, आश्विन २५ गते २०८३

प्रदेश १ को नवौँ तथा हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै

शुक्रवार , आश्विन २२, २०७८

विराटनगर। प्रदेश १ को नवौँ तथा हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ। मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिनका लागि आह्वान गरिएको नवौँ अधिवेशनको बैठक दिउँसो २ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ। 

आज विहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।उनले अहिलेसम्म प्रदेशसभा बैठकमा कुन विषय लिएर छलफल हुने टुङ्गो नभएको बताउदै भने, ‘कार्यव्यवस्था परामर्श समितिको बैठक पछि सदनको कार्यसूची तयार हुने छ।’

नेकपा विभाजन पछि मुख्यमन्त्री बनेका भिमप्रसाद आचार्य अल्पमतमा परेका छन्। नेपालको संविधान २०७२ को धारा १८८ ९२० मा ‘मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित  भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्नुपर्ने’ व्यवस्था छ।

तर, बुधबार प्रदेशसभाको भवन उद्धघाटन कार्यक्रममा बोल्दै उनले दशैँ पछि मात्रै विश्वासको मत लिने योजना रहेको बताएका थिए। प्रदेशसभामा नेकपा एमालेका ५१ सांसद (सभामुखसहित) एकल बहुमत थियो।

१० जना सांसद पार्टी विभाजनको पक्षमा लागेपछि अहिले एमालेको पक्षमा ४१ सांसद मात्र छन्। सभामुख र एकजना फरार सांसद पनि रहेकाले मत संख्या भने एमालेसँग ३९ मात्रै छ। प्रदेशसभाका कायम रहेका ९२ सदस्यमध्ये विपक्षी गठबन्धन नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ गरी विपक्षी गठबन्धनमा ५० सांसद छन्।

नयाँ सरकार गठनका लागि ४७ सांसद आवश्यक पर्छ। प्रदेशसभामा राप्रपाकी एक सांसदको समर्थन कसले पाउने भन्ने अझै स्पष्ट हुन सकेको छैन।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार