काठमाडौं। सुनरीमा प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय परिसर तनावग्रस्त बनेको छ। प्रहरी हिरासतमा रहेका थुनुवा भोक्राहा ५ का मोहम्मद हकिम साहको मृत्यु भएको हो।
मोहम्मदको मृत्यु भएपछि मृतकका आफन्त सहितको भीड र प्रहरीबीच दोहोरो झडप भएको हो। झडपमा प्रहरी सहित एक दर्जन बढी घाइते भएका छन्। झडपका क्रममा प्रहरी कार्यालय र परिसरका संरचनामा समेत क्षति पुगेको छ।
लाठी बोकेको समूह प्रहरीमाथि जाइलागेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन्। उनीहरुले प्रहरीले सुनियोजित रुपले थुनामा रहेका व्यक्तिको हत्या गरेको भन्दै लाश नबुझ्ने बताएका छन्।
प्रहरीले भने सीसीटीभी क्यामेरामा स्पष्ट आत्महत्या गरेको देखिएकाले प्रहरी माथि आक्षेप लगाउनु उचित नहुने बताएको छ। मोहम्मदलाई अभद्र व्यवहार मुद्दामा पक्राउ गरी थुनामा राखेर अनुसन्धान गरिँदै थियो। सोही क्रममा उनले आत्महत्या गरेको प्रहरीको भनाई छ।