काठमाडौं। रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा गम्भीर घाइते चारजना प्रहरीलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।
इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत २८ वर्षका प्रहरी जवान जयप्रकाश थारु र दंगा प्रहरी नियन्त्रण सुनवलमा कार्यरत प्रहरी जवान यज्ञराज पुन मगर तथा सशस्त्र प्रहरी बल नम्बर २८ गण कपिलबस्तुमा कार्यरत ३६ वर्षीय हवल्दार तिलकबहादुर धामी र ३६ वर्षका जवान खुसीराम चौधरीलाई थप उपचारका लागी काठमाडौँ ल्याइएको हो।
उनीहरुको एपीएफ अस्पताल काठमाडौँमा उपचार हुने जनाइएको छ। मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्ने समूह र प्रहरीबीच सोमबार झडप हुँदा प्रहरीले चलाएको गोली लागेर चार जनाको मृत्यु भएको छ।
झडपमा परी नेपाल प्रहरीका ३३ र सशस्त्र प्रहरीका २३ जना गरी ५६ जना सुरक्षाकर्मी घाइते भएकामा गम्भीर घाइते ७ जना प्रहरीको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भैरहेको रुपन्देहीका प्रहरी प्रमुख एसपी मनोज केसीले जानकारी दिए।
घाइते भएका अन्य प्रहरी भने उपचार पछि डिस्चार्ज भएका छन्। झडपमा परी १८ जना स्थानीय घाइते भएको प्रहरीले जनाएको छ । साथै सो क्षेत्रमा प्रशासनले अर्को सूचना नभएसम्मका लागि कर्फ्यु आदेश समेत जारी गरेको छ।