आइतवार, श्रावण २४ गते २०८३

आज फूलपाती, शुभ साइतको प्रतीक फूलपाती भित्राएर मनाइँदै

मंगलवार , आश्विन २६, २०७८

काठमाडौं। प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व मनाइँदै छ। आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्राएर मनाउन लागिएको हो।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दशैं घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने प्रचलन छ।

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीहरुको महान् चाड बडादशैंको चहलपहल आजैका दिनदेखि अझै बढ्ने गर्दछ।

आजदेखि सरकारी कार्यालय पनि बिदा हुँदै छन्। आजदेखी विदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आ-आफ्नो घर फर्कने क्रम अझ तीव्र भएको छ।

हनुमानढोका दरबारको दशैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्राउने परम्परा छ। गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैंघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारीहरु, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ।

हनुमान ढोकामा यस वर्षको फूलपाती मंगलबार अपराह्न साढे चार बजे भित्राइने कार्यक्रम रहेको छ। सो अवसरमा नेपाली सेनाले फूलपाती बढाइँ समेत गर्दछ । सैनिकमञ्च टुँडिखेलमा हुने बढाइँ कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसमेत सहभागी हुने कार्यक्रम छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार