काठमाडौं। साफ च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसंग खेल्दै छ। माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले आज (बुधबार) बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो। पाँच राष्ट्र सहभागी प्रतियोगिताबाट उत्कृष्ट दुई टोली फाइनलमा पुग्नेछन्।
मालेस्थित नेशनल रंगशालामा नेपाल र बंगलादेशबीचको खेल दिउँसो पौने ५ बजे सुरु हुनेछ। नेपाली राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठले फाइनल प्रवेश गर्न बंगलादेशविरुद्ध राम्रो नतिजा निकाल्ने बताएका छन्। बंगलादेशविरुद्धको खेलअघि मंगलबार सम्पन्न प्रि–म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक श्रेष्ठले फाइनल पुग्न राम्रो नतिजा निकाल्ने स्पष्ट पारेका हुन्।
बंगलादेशविरुद्ध मैदान उत्रिँदा नेपाल ऐतिहासिक उपलब्धि प्राप्त गर्ने लक्ष्यमा हुनेछ। नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाउन सकेको छैन। तर, बंगलादेशविरुद्ध बराबरी वा जितको नतिजाले नेपाल पहिलो पटक साफको फाइनल पुग्नेछ। नेपालले साफमा सेमिफाइनलभन्दा माथि जान सकेको छैन।
प्रतियोगितामा नेपाल ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। अब नेपाललाई फाइनल पुग्न मात्र एक अंकको आवश्यकता छ। ६ अंक नै भएको माल्दिभ्स गोल अन्तरमा अघि रहँदै शीर्ष स्थानमा छ। पाँच अंक जोडेको भारत तेस्रो तथा चार अंक जोडेको बंगलादेश चौथो स्थानमा छ।
बुधबार नै भारत र माल्दिभ्सबीच खेल हुँदैछ। नेपालले सुरुआती दुई खेलमा लगातार जित निकालेको थियो। साफ च्याम्पियनसीप फुटबलमा बुधबार फाइनल पुग्ने टोलीको टुंगो लाग्दैछ।