काठमाडौं। आज एकादशी, दशमीको दिन टीका थाप्न नभ्याएकाहरूले आज पनि टीका लगाउँदै छन्। कोजाग्रत पूर्णिमासम्म टीका लगाउने चलन छ। हिँजो टिकाको पहिलो दिन नभ्याएका आफन्त र मान्यजनहरुकोमा आज पनि टीका थाप्न जानेहरुको चहलपहल रहन्छ।
देशका कतिपय स्थानमा भने विजया दशमीको दिन मात्रै टिका थाप्ने चलन छ। आजको दिन ब्रत वस्ने, फलफूल खाने अनि एकादशी महात्मयको कथा सुन्ने चलन छ। यो एकादशीलाई हरेक दृष्टिकोणले एउटा अदभुत र अलौकिक फल प्राप्त हुने एकादशीका रुपमा हिन्दू धर्मावम्वीहरुले लिने गर्दछन्।
बिहानै उठेर नुहाइधुवाई गरी चोखो कपडा लगाएर व्रतको प्रारम्भ गरिन्छ। पूजापाठ अनि मन्दिरदर्शनपछि एकादशी महिमा सुन्ने चलन रहेको छ। एकादशीमा व्रत बस्नाले मामाघरतर्फबाट दश पुस्ता, पितृकुलतर्फबाट दश पुस्ता र श्रीमती या श्रीमानको कुलतर्फबाट दश पुस्ता पितृहरुले वैकुन्ठ प्राप्त गर्ने जनविश्वास रहेको छ।
दुर्गा भवानीको अर्चना गरिएको नवरात्रिपछि यो एकादशीको नाम अनुसार पाप गर्नेहरूलाई नाश गर्ने एकादशीका रुपमा प्रख्यात छ। आजको दिन सुन, तिल, जौ, अन्न, भुमी, छाता अनि जुत्ता दान गर्नाले मनुष्यलाई मृत्युपर्यन्त स्वर्गलोक प्राप्त हुने जनविश्वास रहेको छ।