सोमवार, श्रावण २५ गते २०८३

अफगानिस्तानमा भयानक अवस्थाः ऋण तिर्नका लागि आमा बाबुले बेच्न थाले छोराछोरी

आइतवार , आश्विन ३१, २०७८

काबुल। अफगानिस्तानमा गरिबीको चपेटमा परेका अभिभावकहरु ऋण तिर्न आफ्नै छोराछोरी अरुलाई बेच्न बाध्य बनिरहेको द वाल स्ट्रिट जर्नलको नयाँ रिपोर्टले जनाएको छ। 

४० वर्षीया सलेहा अफगानिस्तानको पश्चिमी क्षेत्रमा बस्छीन्। उनी सरसफाइको काम गर्छिन। सलेहाले अहिले आफ्नी ३ वर्षीया छोरी ऋण लिएको व्यक्तिलाई बेचेकी छन्। उनले ५५० डलर चुकाउनु थियो। तर दैनिक कामबाट केबल ७० सेन्ट आम्दानी गर्ने गरेकी छन् भने उनका पति बेरोजगार बसिरहेका छन्। 

उनी भन्छिन्, ‘यदि जीवन यत्तिकै पीडादायी रहिरहने हो भने म मेरो बच्चासँगै आत्महत्या गर्नुपर्ने स्थिति आउनेछ। किनकी मलाई आज राति हामीले के खाने पनि थाहा छैन। छोरीको जीवन बचाउन म पैसा खोज्ने प्रयास गरिरहेकी छु।’ 

उनले ऋण लिएका व्यक्ति खलिद एह्मदका अनुसार ऋण सुल्झाउन उनले ३ वर्षीया छोरी लिनैपर्ने भएको हो। उनी भन्छन्, ‘मसँग पनि त पैसा छैन। र उनीहरुले तिर्न सकिरहेका छैनन्। त्यसैले मसँग छोरी लैजानु बाहेक कुनै विकल्प छैन।’

गत महिना संयुक्त राष्ट्र संघले तालिबानको अचानक नियन्त्रण पश्चात् अफगानिस्तान अधिकतम गरिबीतर्फ मोडिरहेको चेतावनी दिएको थियो। यूएनडीपी एसिया–प्यासेफिकका निर्देशक कन्नी विग्नराजाका अनुसार अबको एक वर्ष भित्रै अफगानिस्तानमा गरिबीको दर बढेर ९७ देखि ९८ प्रतिशतसम्म पुग्नेछ। पछिल्लो दुई दशक अफगानिस्तानको आर्थिक स्थितिमा धेरै सुधार आएको थियो तर राजनीतिक अस्थिरका कारण त्यो सबै भङ्ग हुने खतरा बढेको छ।

यसअघि बाइडेन प्रशासनले तालिबानका श्रोतसाधन सीमित गराउन भनेर देशको झन्डै १० अर्ब डलर बराबर रकम रोक्का गरिदिएका थिए। तर, उनको यस कदमले अफगानीहरुलाई बढी हानी पुग्नेछ भनेर आलोचना पनि गरिएको छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार