काठमाडौं। पछिल्लो २४ घण्टामा ६६६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा ५६९ जना र २ हजार २ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जना गरी ६६६ जनामा कोरोना संक्रमण देखिएको हो।
मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख १० हजार २९८ पुगेको छ। जसमध्ये ७ लाख ८८ हजार ६३० जना संक्रमणमुक्त भइसकेका छन्। २४ घण्टामा ६२२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ३७२ पुगेको छ। मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार २९६ जना रहेका छन्।
जसमध्ये ९ हजार ५१२ जना होम आइसोलेसनमा रहेका छन् भने ७८४ जना संस्थागत आइसोलेसनमा रहेका छन्। कोरोनाका बिरामीमध्ये २५२ जना आईसीयू र ८० जना भेन्टिलेटरमा उपचाररत् छन्।
यस्तै १० वर्ष मुनिका १२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ४५ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १७७, रुपन्देहीमा ५२, ललितपुरमा ३३, चितवनमा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।