काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूह त्यागेका छन्। आसन्न १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका सिंहले पौडेलले बोलाएको बैठक बहिस्कार गर्ने भएका छन्।
वरिष्ठ नेता पौडेलले आज संस्थापन इतर समूहका केन्द्रीय पदाधिकारी र सदस्यहरुको बैठक बोलाएका छन्। बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा २ बजे हुने बैठकमा आफू नआउने सन्देश सिंहले पौडेललाई पठाइसकेका छन्।
पछिल्लो समय पौडेल र सिंहका बीच दूरी बढ्दै गएको अवस्था छ। १३ औं महाधिवेशनमा पौडेल सभापति लड्दा सिंह प्रस्तावक रहेका थिए। १३ औं महाधिवेशनमा आफूले सभापतिमा सघाए पनि पौडेलले अहिले सहयोग नगरेको सिंहको गुनासो छ।
पछिल्ला केही सार्वजनिक कार्यक्रमहरुमा सिंहले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेल दुवैले पार्टी हाँक्न नसक्ने बताउँदै आएका छन्।