शुक्रवार, आश्विन २३ गते २०८३

सशस्त्रका एआईजी वंशीराज दाहाललाई बर्खास्त गर्न गृहमा सिफारिस

शुक्रवार , आश्विन २३, २०८३

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई पदबाट बर्खास्त गर्न गृह मन्त्रालयमा सिफारिस गरिएको छ। 

गम्भीर सूचना चुहाएको आरोपमा सरकारले निलम्बन गरेका एआईजी दाहाललाई बर्खास्तै गर्न छानबिन समितिले गृह मन्त्रालयमा सिफारिस गरेको हो।अब उनलाई गृहमन्त्रीज्यूले बर्खास्तको निर्णय पनि गर्न सक्नुहुन्छ’, गृह स्रोतले शुक्रबार बिहान भन्यो।

एआईजी दाहालबारे छानबिन गर्न गृह मन्त्रालयले गत सोमबार गठन गरेको समितिले बिहीबार गृह मन्त्रालयमा आफ्नो प्रतिवेदन बुझाएको हो। जसमा एआईजी दाहालाई पदबाट बर्खास्त गर्न गृहमन्त्री सुधन गुरुङसमक्ष सिफारिस गरिएको हो। 

छानबिन समिति गठन गर्दा सोमबार गृह मन्त्रालयले भनेको थियो, ‘हरेक सशस्त्र प्रहरी कर्मचारीले आफ्नो सेवा र पद अनुसारको आचारण पालना गर्नुपर्ने तथा सुरक्षासँग सम्बन्धित संवेदनशील सूचनाको संरक्षण तथा गोपनीयता कायम गर्नुपर्ने कानुनी व्यवस्था रहेकोमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचारण विपरीतको कार्य गरेको भनी सशस्त्र प्रहरी बल, नेपालबाट कारबाहीको लागि मन्त्रालयमा सिफारिस प्राप्त भएकोमा उक्त अभियोग उपर जाँचबुझ गर्न यस मन्त्रालयको मिति २०८३र६र१९ गतेको निर्णयानुसार निजलाई निलम्बन गरी तीन दिनभित्र जाँचबुझ सम्पन्न गरी मन्त्रालयमा प्रतिवेदन पेस गर्न जाँचबुझ अधिकृत तोकिएको बेहोरो सम्बन्धित सबैमा जानकारी गराइन्छ।’

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा ‘हरेक कर्मचारीहरूबाट गरिने पदीय आचरण विपरीतका कार्यहरू, संवेदनशील गोप्य सूचनाको चुहावट तथा शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिहरूमाथि गृह मन्त्रालयले सूक्ष्म निगरानी तथा विश्लेषण गरिरहेको’ उल्लेख थियो। 

साथै ‘कानुन विपरीत हुने हरेक गतिविधि वा घटनामा संलग्न जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने’ भनिएको थियो।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार