आइतवार, श्रावण २४ गते २०८३

फाइजर खोप आजदेखि: कसले लगाउन पाउँछन् ?

आइतवार , कार्तिक २८, २०७८

काठमाडौं। कोरोना भाइरसविरुद्धको फाइजर खोप आजदेखि लगाउन सुरु गरिएको छ। आजदेखि मंसिर ४ गतेसम्म फाइजर खोपको पहिलो मात्रा लगाउन लागिएको हो।

यसको दोस्रो मात्रा मंसिर २७ गतेदेखि दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। विश्वका १३२ देशका नागरिकहरुले लगाइसकेको फाइजर खोप नेपालमा पहिलोपटक लगाउन थालिएको हो। यो खोप १२ वर्षमाथिका बालबालिकालाई लगाउन मिल्छ।

खोप पाउने १२ वर्षमाथिका दीर्घ रोगीको समूह निर्धारण गरेर देशभर खोप अभियान सञ्चालन गर्न लागेको मन्त्रालयले जनाएको छ। खोप लगाउन जाँदा अस्पताल वा चिकित्सकले जारी गरेको उपचार सम्बन्धी पूर्जा अनिवार्य लिएर तोकिएको अस्पतालमा जान मन्त्रालयले अनुरोध गरेको छ।

अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको १ लाख ६२० डोज फाइजर खोप गत कात्तिक ८ गते नेपाल आइपुगेको थियो।

कहाँ-कहाँ छन् खोप केन्द्र ?

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८ वटा अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछन्।

काठमाडौं उपत्यकामा रहेका वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयकेन्द्र, पाटन अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रबाट खोप कार्यक्रम सञ्चालन हुनेछन्। यस्तै प्रदेश १ का मेची प्रादेशिक अस्पताल, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोसी अस्पतालबाट खोप लगाउने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।

यस्तै प्रदेश २ का गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी प्रादेशिक अस्पताल र जनकपुर प्रादेशिक अस्पतालबाट खोप दिइने छ। यस्तै बागमती प्रदेशका चितवनको भरतपुरस्थित वीपी कोइराला स्मृति क्यान्सर अस्पताल र धुलिखेलस्थित धुलिखेल अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछन्।

यस्तै गण्डकी प्रदेशमा पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र बाग्लुङस्थित धौलागिरि अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछन्। लुम्बिनी प्रदेशको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल, दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जस्थित भेरी अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछन्।

सुदूरपश्चिममा धनगढीस्थित सेती प्रादेशिक अस्पताल र अमरगढीस्थित डडेल्धुरा अस्पताल तथा कणरली प्रदेशमा सुर्खेतस्थित कणरली प्रादेशिक अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछन्।

खोप पाउने लक्षित दीर्घ रोगी समूह

मुटुको शल्यक्रिया गराएका वा औषधि सेवन गरिरहेका ।

मिर्गौला फेरेका डायलायसिस गराइरहेका वा औषधि सेवन गरिरहेका ।

जुनसुकै प्रकारको क्यान्सरको उपचार गराइरहेका ।

अंग प्रत्यारोपण गरेका ।

उच्च रक्तचाप वा मधुमेह भई चिकित्सकको निगरानीमा उपचार गराइरहेका ।

रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका ।

मस्तिष्क र मस्तिष्कका रक्तनली सम्बन्धी रोग भएका ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार