काठमाडौं। सरकारले इजरायल रोजगारीका लागि भाषा परीक्षा पास गरेका कामदारलाई पुसको दोस्रो साताबाट इजरायल पठाइने भएको छ। केयर गिभरमा इजरायल जाने कामदारको स्वास्थ्य परीक्षण रिपोर्ट र प्रहरीको रिपोर्ट माग गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ।
सो रिपोर्ट आएसँगै विभागले कामदारको सबै रिपोर्ट इजरायललाई पठाउने छ। इजरायल रोजगारीमा पहिलो चरणमा पाँच सय जना पठाइने छ। दोस्रो सुचना प्रकाशन गरी बाँकी रहेका कामदारलाई लैजाने प्रक्रिया अगाडि बढाउने विभागले जनाएको छ।
इजरायलले कन्ट्रयाक पेपर पठाए पछि नेपाली कामदार इजरायल जान पाउने वैदेशिक रोजगार विभाग इजरायल शाखा प्रमुख डम्बर सुनुवारले बताए। इजरायल जाने कामदारको स्वास्थ्य परीक्षणका लागि विभागले चार वटा अस्पताल तोकेको छ।
कामदारले कन्ट्रयाक पेपरमा सम्झौता गरेको ३० दिनभित्र उडिसक्नु पर्ने शाखा प्रमुख सुनुवारले जानकारी दिए। इजरायल सरकारले दीर्घकालीन स्याहार केन्द्रमा सहयोगीका लागि पहिलो चरणमा एक हजार कामदार माग गरेको छ।
रोजगारीका लागि परीक्षामा एक हजार ६ सय जना छनोट भएका थिए। जसमध्ये चिट्ठा प्रक्रियाबाट एक हजार १७५ जना छनोट भएका छन्। छनोट भएका सबै कामदार पठाउने तयारी भएको सुनुवारले बताए। विभागले भाषा परीक्षा र अन्तर्वाताबाट छानिएकाको सूची गत १० असोजमा सार्वजनिक गरेको थियो।