काठमाडौं। नेपाली राष्ट्रिय महिला टोलीले पहिलो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा कतारविरुद्ध १ सय १९ रनको फराकिलो जित निकालेको छ। मंगलबार कतारमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४६ रनको योगफल तयार पारेको थियो।
दोस्रो इनिङमा जवाफी ब्याटिङमा उत्रिएको कतारले ११.५ ओभरमा सबै विकेट गुमाएर २७ रन मात्रै बनाउन सक्यो। नेपालका लागि १.५ ओभर बलिङ गरेकी रुबिनाले मात्रै १ रन खर्चेर सर्वाधिक ३ विकेट लिइन्।
यस्तै, सीता राना मगर र कविता कुँवरले २-२ तथा करुण भण्डारीले एक विकेट लिइन्। कतारका लागि कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
यस जितसँगै नेपालले तीन म्याच सिरिजमा १-० को अग्रता बनाएको छ। नेपाल र कतार पहिलोपटक टी–२० अन्तरराष्ट्रिय सिरिज खेलिरहेका हुन्। सिरिज सकिएपछि नेपाली टोली ३ मंसिरमा यूएईतर्फ लाग्ने कार्यक्रम छ।
युएईमा नेपालले आइसिसी वुमन्स टी-२० एसिया छनोटका खेल खेल्ने छ। पहिलो खेलमा ६ मंसिरमा हङकङसँग प्रतिस्पर्धा गर्दा ७ मंसिरमा भुटान र ९ मंसिरमा कुवेतसँग प्रतिस्पर्धा गर्ने कार्यतालिका छ।
त्यस्तै, १० मंसिरमा मलेसिया र १२ मंसिरमा युएईसँग प्रतिस्पर्धा गर्ने कार्यतालिका छ। सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी-२० विश्वकपको लागि नेपालसहित ६ राष्ट्रले ग्लोबल छनोटको लागि युएईमा एसिया छनोट खेल्न लागेका हुन्।