काठमाडौं। आइसिसी महिला टि(२० विश्वकप एसिया छनोटमा नेपालले आज आफ्नो चौथो खेलमा मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्दै छ। पहिलो खेलमा हङकङसँग पराजित भएको नेपाल त्यसपछिका दुई खेलमा जित निकाल्दै ग्लोबल छनोटको सम्भावना कायम राख्न सफल भएको छ।
नेपालले दोस्रो खेलमा भुटानलाई आठ विकेटले हराएको थियो। यस्तै‚ नेपालले बिहीबार कुवेतलाई नौ विकेटले हराउँदै विश्वकपको ग्लोबल छनोट पुग्ने सम्भावना जीवितै राखेको छ। मलेसियाले भने तीन खेलमा मात्र एक जित निकालेको छ।
दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा हुने आजको खेल ११स्१५ बजे हुने छ। ग्लोबल छनोटको सम्भावना कायमै राख्न नेपाललाई मलेसियामाथि जित निकाल्नै पर्ने दबाब छ। सन् २०१९ मा भएको दुई भेटमा नेपालले मलेसियालाई हराएको थियो।
त्यसैले नेपाल आफ्नो विरासत कायम राख्दै मलेसियाविरुद्ध निश्चित जित चाहन्छ। मलेसिया भने नेपालसँग यसअघि व्यहोरेको हारको बदला लिन चाहन्छ। प्रतियोगिताअन्तर्गत पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो।
नेपाल ३ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। मलेसिया २ अंक जोडेर चौंथो स्थानमा रहेको छ। प्रतियोगिताको पाँचौ खेलमा नेपालले आइतबार युएईविरुद्ध खेल्ने छ। युएई अहिलेसम्म अपराजित रहेको छ। छनोटमा ६ टिम सहभागी छन्। छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ।