काठमाडौं। नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले डडेलधुरा जिल्ला अधिवेशनलाई मान्यता दिने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा बसेको निर्वाचन समितिको बैठकले सभापति शेरबहादुर देउवाको गृह जिल्लामा भएको अधिवेशनलाई मान्यता दिने निर्णय गरेको हो।
डडेलधुराको जिल्ला अधिवेशनले मान्यता पाएसँगै निवर्तमान सभापति कर्ण बहादुर मल्ल समूह १४ औँ महाधिवेशनको प्रक्रियामा सहभागी नहुने अवस्थामा पुगेको छ। जिल्लाका सबै अधिवेशन बहिस्कार गरेका मल्ल समूह १५ औँ महाधिवेशनसम्मका लागि काँग्रेसको जिम्मेवारीबाट ‘आउट’ भएको हो। काँग्रेसमा मल्ल समूहका नेता कार्यकर्ता क्रियाशील सदस्यमा सीमित भएका छन्।
काँग्रेस डडेलधुराका मल्ल पक्षले जिल्ला अधिवेशन बदर गरेर पुन निर्वाचन गर्न माग गरेको थियो। निर्वाचन अधिकृत लोकेन्द्र बमको रिपोर्ट अनुसार डडेलधुराको जिल्ला अधिवेशनबारे थप निर्णय गर्न आवश्यक नभएको निर्वाचन समितिको ठहर छ। तर निर्वाचन समितिका सदस्य सीताराम केसीले भने उक्त निर्णयमाथि फरक मत राखेका छन्।