काठमाडौं। नेकपा एमालेको १० औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ।
सोमबार राति सुरु गर्ने भनिएको मतदान प्राविधिक कारणले मंगलबार बिहानमात्र सुरु भएको हो। विद्युतीय मेसिनबाट मतदान हुँदैछ। केन्द्रीय निर्वाचन आयोगका एक सदस्यका अनुसार बिहान ७:४५ बजेसम्म कूल महाधिवेशन प्रतिनिधिमध्ये आधाले मत खसालिसकेका छन्।
साढे १०:३० बजेभित्र मतदान सम्पन्न हुने आयोगको अनुमान छ। अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका केही क्लस्टरमा आज मतदान हुनेछ।
अध्यक्षमा केपी ओली र भीम रावल चुनावी मैदानमा छन्। ६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली भिड्नेछन्।
अर्कोतिर ७ सचिव पदमा पनि ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याललाई उम्मेदवार बनाएका छन्। ओलीको यो सूचीमा टोपबहादुर र लेखराज पूर्वमाओवादी पृष्ठभूमिका हुन्।
सोही पदमा ओलीको टिम बाहिरबाट नेकपा एमालेका नेता भीम आचार्य र टङ्क कार्कीले उम्मेदवारी दिएका छन्।