काठमाडौं। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज बस्ने प्रदेश सभाको बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन्। बैठक १ बजे बोलाइएको छ।
काठमाडौं। मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहीले नियुक्त भएको २८औं दिनमा विश्वासको मत लिन लागेका हुन्। पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्ताको नेतृत्व हस्तान्तरण गरेपछि कांग्रेस संसदीय दलका नेता शाही कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलपछि आजै मत विभाजन गर्ने कार्यसूची रहेको छ।
सत्तारुढ गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले मुख्यमन्त्रीलाई विश्वासको मत दिने छन्। प्रदेशसभामा कायम रहेका ३५ सदस्यमध्ये मुख्यमन्त्रीलाई १८ जनाको विश्वासको मत आवश्यक पर्छ। तर सत्तारुढ गठबन्धनसँग २३ मत रहेका छ।
माओवादी केन्द्रको १२, कांग्रेसको ६ र समाजवादीका ३ जना सांसद छन्। आज बस्ने प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने अनुपस्थित हुने भएको छ। सबै सांसदहरू पार्टीको १०औं राष्ट्रिय महाधिवेशनमा चितवन भएकोले बैठकमा सहभागी हुन् नसक्ने एमालेले जनाएको छ।
मुख्यमन्त्रीले विश्वासको मत पाएपछि मात्रै मन्त्रालयको भागबन्डा टुङ्गो लगाउने छन्। मन्त्रालयको भागबन्डा नमिल्दा २८ दिनसम्म पनि सरकारले पूर्णता पाउन सकेको छैन। विश्वसको मत पाएपछि सत्ता साझेदार दलबाट मन्त्री नियुक्त गर्ने तयारी गरेको कांग्रेस प्रदेश संसदीय दलका सचेतक हिमबहादुर शाहीले बताए।