शुक्रवार, आश्विन १६ गते २०८३

एमाले महाधिवेशन लम्बिंदा डेढ करोड खर्च बढ्यो, जम्मा महाधिवेशन खर्च कति?

मंगलवार , मंसिर १४, २०७८

काठमाडौं। नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन लम्बिंदा निर्धारित बजेटभन्दा करिब डेढ करोड खर्च बढेको छ। चितवनमा आयोजित एमालेको महाधिवेशन नियमित तालिकाभन्दा दुई दिन बढी लम्बिंदा सो खर्च बढेको हो। 

नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार १० औं महाधिवेशनका लागि ७ करोड ५० लाख रुपैयाँ बजेट छुट्याइएको थियो। नेकपा एमालेको केन्द्रीय महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले पनि महाधिवेशन एक दिन मात्रै बढी लम्बिदा थप १ करोड भार पार्टीलाई थपिने बताए। 

एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उदघाटन मंसिर १० गते चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा भएको थियो। बन्दसत्र मंसिर ११ गते सौराहमा सुरु भएको थियो। सहमतिमा नेतृत्व चयनको प्रयास सफल नभएपछि पूर्वनिर्धारित तालिका प्रभावित हुँदा महाधिवेशन लम्विएको हो।

मंसिर ११ गते नै उम्मेदवारी दर्ता, दावी विरोध र अन्तिम नामावली प्रकाशन गर्ने, १२ गते निर्वाचन गरेर १३ गते विहानै चितवनमा पत्रकार सम्मेलन गरी महाधिवेशन समापन गर्ने एमालेको पूर्वनिर्धारित कार्यक्रम थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर १२ गते दिनभरजसो नै सहमतीका लागि प्रयास गर्दा महाधिवेशन थप दुई दिन लम्बियो।

नेतृत्वमा सहमति नजुटेपछि १४ गते विहान मतदान भएको छ। अहिले मतगणना भइरहेको छ।मतपरिणाम आएपछि निर्वाचित भएकाहरुको आजै सपथ ग्रहणको तयारी गरिएको छ। महाधिवेशन भने १५ गते अर्थात भोली मात्रै सम्पन्न हुनेछ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार