राजासहित हिन्दूराष्ट्रको एजेन्डा बोक्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन आजदेखि सुरु हुँदैछ । भृकुटीमण्डपमा बिहान साढे ११ बजे सुरू हुने महाधिवेशन तीन दिनसम्म चल्नेछ । महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठका अनुसार महाधिवेशनमा झण्डै ४ हजार ४ सय प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनले १४७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।
महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनले दाबेदारी प्रस्तुत गर्नु भएको छ । लिङ्देनलाई अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पनि समर्थन गर्ने घोषणा गरिसक्नु भएको छ । अर्का अध्यक्ष पशुपति शमशेर राणाले भने आफू तटस्थ बस्ने बताउँदै सहमतिमा नेतृत्व चयनका लागि प्रयास गर्ने बताउनु भएको छ । लिङ्देनको साथ लोहनीसँगै डा. धवलशमशेर राणापनि रहनु भएको छ । अध्यक्ष थापालाई नेताहरू दीपक बोहोरा, बुद्धिमान तामाङ, ध्रुव प्रधान, जयन्त चन्द, रोशन कार्की, उद्धव पौडेल, भुवन पाठकको साथ रहेको छ ।