काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रथम एकता महाधिवेशन काठमाडौंमा सुरु भएको छ। महाधिवेशनको पार्टीका अध्यक्षहरुले संयुक्त रुपमा दिप प्रज्वलन गरी उद्घाटन गरे। कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायत नेताहरु अतिथि छन्।
सोही कार्यक्रमलाई सम्वोधन गर्दै युवा नेता तथा अध्यक्ष पदका उम्मेदवार राजेन्द्र लिङ्देनले महाधिवेशन प्रतिनिधिलाई जीवन रोज्ने कि मृत्यु रोज्ने भन्ने प्रश्न गरेका छन् । उनले पार्टी एकतापछिको विगत दुई वर्षको कार्यशैली र गतिविधि हेर्दा राप्रपाले केही मन्त्री बनाउने र कुनै दलको पछि लाग्न सक्ने सम्भावना भए पनि राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्र बनाउने हैसियत हासिल गर्न नसक्ने दाबी गरे।
पार्टीको महाधिवेशन उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले यतिबेला पार्टी इतिहासकै सबैभन्दा महत्वपूर्ण क्षणमा उभिएको बताए। यसअघिको महाधिवेशनमा नेपालका तीन ठुला पार्टी एमाले, नेपाली काँग्रेस र नेकपा माओवादीका बीचमा राप्रपाको प्रशंसा गर्नमा प्रतिस्पर्धा चलेको पनि उनले स्मरण गराए।
उनले भने, ‘राप्रपा नयाँ शक्तिको रुपमा उदय र विकास भइरहेको छ भनेर उहाँहरुको सम्बोधनबाट व्यक्त भइरहेको थियो। तर लामो समय राप्रपाको त्यो एकता टिक्न सकेन। आज यहाँ आइपुग्दा राप्रपा देशको राष्ट्रिय मान्यता प्राप्त पार्टी पनि बन्न सकेन।’
उनले राप्रपाको मुद्दा सडकमा सर्वाधिक लोकप्रिय बनेको, मानिसहरु हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा रहेको तर यसका बाबजुद राप्रपा कहाँ छ भनेर प्रश्नसमेत गरे।