काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको एकताको महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि संशोधित निर्वाचन तालिका प्रकाशन गरिएको छ। बिहीबार राति नै ४४७१ जना महाधिवेशन प्रतिनिधिको सूची प्रकाशित गरेको निर्वाचन समितिले आजदेखि मनोनयन दर्ता लगायतको बाँकी प्रक्रिया सुरु गरेको छ।
जसअनुसार शुक्रबार बिहान साढे ७ बजेदेखि दरखास्त फाराम वितरण गर्न थालिएको छ भने साढे ७ देखि साढे ९ बजेसम्म मतदाता नामावलीमाथि दावी विरोध र सच्याउने समय दिइएको छ भने ११ बजे अन्तिम नामावली प्रकाशित गरिनेछ। त्यसपछि साढे ११ बजेदेखि साढे १ बजेसम्म उम्मेदवारी दर्ताको समय दिइएको छ। २ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन, २ देखि ४ बजेसम्म उम्मेदवारमाथि दावी विरोध र ५ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ।
यस्तै मतदान शनिबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ। मतदान सम्पन्न भएसँगै मतगणनाको प्रक्रिया सुरु हुनेछ। राप्रपाको अध्यक्षमा उम्मेदवारी दर्ताका लागि १ लाख, उपाध्यक्षमा ७५ हजार महामन्त्रीमा ५० हजार र केन्द्रीय सदस्यमा १५ हजार शुल्क तोकिएको छ।
राप्रपाको नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा रहेका छन्।