काठमाडौं। नेपाली काँग्रेसको प्रदेश नेतृत्वका लागी आज निर्वाचन हुँदै छ । विहान १० बजेदेखी मतदान हुने कार्यतालिका रहेपनि अहिलेसम्म गण्डकी र सुदुरपस्चिम प्रदेशमा मतदान सुरु भएको छ । बाग्मती प्रदेशमा केहीवेरमा मतदान सुरु हुँदै छ । मतदान सुरु भएको गण्डकी प्रदेशको नेतृत्व चयनका लागि पोखरामा मतदान जारी छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि पोखरा पुगेर मतदान गरेका छन् ।
गण्डकी प्रदेश नेतृत्वका लागि संस्थापनबाट अर्जुन जोशी र पौडेल पक्षबाट शुक्रराज शर्माको उम्मेदवारी परेको छ । मतदान सुरु भएको सुदूरपश्चिम प्रदेशमा सभापतिका लागि वीरबहादुर बलायर र नारायणदत्त मिश्र चुनावी प्रतिस्पर्धामा छन् । बाग्मतीमा संस्थापनबाट इन्द्र बाँनिया, पौडेल पक्षबाट जगदिशनरसिंह केसी र सिटौला पक्षबाट भीमसेनदास प्रधानबीच प्रतिस्पर्धा हुने भएको हो ।
त्यस्तै लुम्बिनीमा संस्थापनबाट भरतकुमार शाह र इतरबाट अमर पुनबीच प्रतिस्पर्धा हुने भएको छ । कर्णालीमा संस्थापनबाट ललितजंग शाही, इतरपक्षबाट भुपेन्द्रजंग शाही र निधिपक्षबाट मोतिराज बमलाई उम्मेदवार बनाइएको छ । प्रदेश नम्बर एकमा संस्थापन पक्ष र सिटौला पक्षका बीचमा सहकार्य गरी उद्धव थापा उम्मेदवार बनाइएको छ, भने पौडेल समूहले प्रदेश एकको सभापतिमा गुरुराज घिमिरेलाई उम्मेदवार बनाएको छ ।
कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश नेतृत्वका लागि प्रदेश २ बाहेक ६ प्रदेशमा आज मतदान भैरहेको हो । प्रदेश दुईमा भने केन्द्रीय महाधिवेशन पछि मात्रै प्रदेशसभा अधिवेशन हुने छ । प्रदेशका केही जिल्लामा विवाद उत्पन्न भएपछि प्रदेश क्षेत्रीय अधिवेशन समेत हुन सकेको छैन् ।
आज हुने निर्वाचनबाट प्रदेश सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री तथा सदस्य चुनिने छन् । कोषाध्यक्ष भने नयाँ कार्यसमितिले मनोनित गर्ने छ । कांग्रेस प्रदेश अधिवेशन प्रदेश १ को विराटनगर, वाग्मतीको हेटौँडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा चलिरहेको छ ।