काठमाडौं। तालिवानले अफगानिस्तानमा जबरजस्ती विवाहलाई निषेध गर्न आदेश जारी गरेको छ । तालिवानले महिला र पुरुष समान रहेको भन्दै हिँजो जबरजस्ती विवाहमा रोक लगाउन नयाँ आदेश जारी गरेको हो । अफगानिस्तानमा यसअघि विवाह गर्नका लागि १६ वर्ष पुग्नुपर्ने कानुनी व्यवस्था रहेको थियो ।
यो व्यवस्थालाई चुनौती दिँदै तालिवानले जबरजस्ती विवाह रोक्ने कानुनी व्यवस्था गरी आदेश जारी गरेको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ । हिँजो जारी भएको आदेशमा महिलाले चाहेमा श्रीमानको मृत्युपछि १७ हप्तापछि दोस्रो विवाह गर्न पाउने व्यवस्था पनि लागू गरिएको छ ।
महिलाहरुले पतिको मृत्युपछि उसको भाइ वा आफन्तमध्ये एकसँग विवाह गर्ने आदिवासी समूहको लामो परम्परालाई सुधार गर्न र महिलालाई सम्मानजनक र निष्पक्ष व्यवहार गर्न पनि जारी आदेशमा उल्लेख छ । यस्तो व्यवस्था लागु भए लामो समयदेखि चरम विभेद खेप्दै आएका अफगानि महिलाका लागि सहज हुने भन्दै अधिकारकर्मीहरुले तालिवानीहरुको कदमको स्वागत गरेका छन् ।
तर शिक्षा क्षेत्रमा महिलाको सहभागीताका बारेमा भनेतालिवान सरकारले हाल सम्म निर्णय गरेको छैन । यसअघि तालिवान सरकारले महिला तथा बालिकाहरुलाई पुरुषहरु सँगै बसेर पढ्न नपाउने नयाँ शिक्षा नीति सार्वजनिक गरेको थियो । सो नितिमा अफगानिस्तानका विश्वविद्यालयहरुलाई महिला र पुरुष विद्यार्थी पढाइ हुने गरी छुट्याउने र इस्लामी ड्रेस कोड लागू गरिने जनाइएको थियो ।