काठमाण्डौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पुर्व अध्यक्ष कमल थापाले चुनावमा आफू पराजित भएको स्वीकार गरेका छन्।
आइतवार बिहान सकिएको मतगणनामा प्रतिस्पर्धी राजेन्द्र लिङ्देन अध्यक्ष बनेपछि थापाले हार स्विकार गर्दै निर्वल निवाशप्रति भने आक्रोश पोखेका छन्। सामाजिक सञ्जालमार्फत थापाले हार स्वीकार गर्दै लिङ्देनलाई बधाई तथा शुभकामना दिएका छन्।
थापाले लेखेका छन् ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु। नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना ।’ थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले पार्टीको नेतृत्व चयनका लागि हस्तक्षेप गरेको आरोप लगाएका छन्। थापाले सामाजिक सञ्जालमा मुलुक गणतत्रमय भएको अवस्थामा समेत राजतन्त्रको मुद्दा बोकेर हिँडेको आफुलाई राजनितिक रुपमा समाप्त गर्न पुर्व राजा लागेको आरोप लगाए।
थापाले लेखेका छन् ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु। बधाई छ ज्ञानेन्द्र वीर विक्रम शाह देव धन्यवाद। मैले राहत र उन्मुक्ति पाएको छु। सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो। सो एजेण्डाको मुल संवाहकलाई राजनीतिक रुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभ–कामना।’