काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा आजबाट गुटको अन्त्य भएको दाबी गरेका छन्। उनले आफ्नो विजयमा जुलुश ननिकाल्न र माला नलगाइदिन आह्वानसमेत गरे।
विजयी भएपछि कार्यकर्ताहरुलाई सम्बोधन गर्दै लिङ्देनले भने, ‘यो आन्तरिक प्रतिस्पर्धा हो, तपाईंहरुले विजय जुलुस निकाल्नु पर्दैन। माला लगाइदिनुपर्दैन।’
राप्रपालाई पहिलो पार्टी बनाउने काममा लाग्नुपर्ने बताउँदै उनले बोलेका कुरालाई व्यवहारमा देखाउने बताए। ‘अब परिणाममा देखाउनुपर्छ। मेरो काँधमा पनि कुराले होइन, परिणामले देखाउने जिम्मेवारी आएको छ,’ उनले भने।राजेन्द्र लिङ्देन पनि अरु नेताहरु जस्तै रहेछ भन्ने मौका नदिने उनले बताए।
‘थुक्क, यो राजेन्द्र लिङ्देन पनि उस्तै रहेछ भन्ने मौका दिन्नँ, तपाईंहरुको शीर झुक्ने काम गर्दिनँ,’ उनले भने।