काठमाडौं। नेपाली कांग्रेस बागमती प्रदेश सभापतिका लागि आइतबार भएको दोस्रो चरणको मतदान सकिएको छ। शनिबार भएको निर्वाचनमा कसैले पनि बहुमत ल्याउन नसकेपछि आज दोस्रो चरणको मतदान भएको हो।
आज भएको मतदानमा २ हजार २५ मत खसेको छ। २ हजार १ सय ५१ मतदाता रहेकोमा शनिबार २ हजार ८३ जनाले मतदान गरे। पहिलने चरणन सभापतिका ३ जना उम्मेदवार रहेकोमा एकजना शनिबारको मतदानबाट बाहिरिएसँगै आइतबार दुईजनाका लागि मतदान भएको थियो।
सभापतिमा संस्थापन पक्षबाट इन्द्रबहादुर बानियाँ, संस्थापन इतरबाट जगदीश्वर नरसिंह केसी र सिटौला समूहबाट भीमसेनदास प्रधानको उम्मेदवारी परेको थियो। शनिबारको मतदानमा बानियाँले ९ सय ९२ मत, केसीले ८ सय ७२ र प्रधानले १ सय ९७ मत पाएका थिए।
सबैभन्दा कम मत पाएर निर्वाचन प्रक्रियाबाट बाहिरिएका प्रधानले आइतबारको निर्वाचनमा बानियाँलाई समर्थन गरेका थिए। मुचुल्का उठाएर सभापतिको मतगणना आइतबार नै गरिने र बाँकीको भोलि गरिने निर्वाचन समितिले जनाएको छ।