काठमाडौं। नेपाली कांग्रेस बागमती प्रदेश सभापतिका लागि आइतबार भएको दोस्रो चरणको मतदानको मतगणना सुरु भएको छ। शनिबार भएको निर्वाचनमा कसैले पनि बहुमत ल्याउन नसकेपछि आज दोस्रो चरणको मतदान भएको हो।
मतदानको गणना गरी सभापतिको मतपरिणाम आजै सार्वजनिक गर्ने निर्वाचन समितिले जनाएको छ। आज भएको मतदानमा २ हजार २५ मत खसेको छ। २ हजार १ सय ५१ मतदाता रहेकोमा शनिबार २ हजार ८३ जनाले मतदान गरे। पहिलने चरणन सभापतिका ३ जना उम्मेदवार रहेकोमा एकजना शनिबारको मतदानबाट बाहिरिएसँगै आइतबार दुईजनाका लागि मतदान भएको थियो।
सभापतिमा संस्थापन पक्षबाट इन्द्रबहादुर बानियाँ, संस्थापन इतरबाट जगदीश्वर नरसिंह केसी र सिटौला समूहबाट भीमसेनदास प्रधानको उम्मेदवारी परेको थियो। शनिबारको मतदानमा बानियाँले ९ सय ९२ मत, केसीले ८ सय ७२ र प्रधानले १ सय ९७ मत पाएका थिए। सबैभन्दा कम मत पाएर निर्वाचन प्रक्रियाबाट बाहिरिएका प्रधानले आइतबारको निर्वाचनमा बानियाँलाई समर्थन गरेका थिए।