काठमाडौं। रामचन्द्र पौडेल समूहका नेताहरूको बैठकले सभापति साझा उम्मेदवारको छिनोफानो अब रामचन्द्र पौडेल र शंशाक कोइरालाले लिनुपर्ने निष्कर्ष निकालेको छ। १४ औँ महाधिवेशनमा सभापतिको साझा उम्मेदवार तय गर्न भन्दै बुधबार बसेको पौडेल समुहको बैठकले उम्मेदवार छान्ने जिम्मेवारी शीर्ष नेतालाई दिएको हो।
वरिष्ठ नेताले संयोजन गरेको आजको बैठकमा समूह निकट रहेका केन्द्रीय सदस्य, नवनिर्वाचित प्रदेश सभापति, जिल्ला सभापति र पूर्व सभापतिहरू सहभागी थिए। शेखर र प्रकाशमानका गृह जिल्लाका सभापतिहरूले भने दुई नेता नै अध्यक्षको दाबेदार हुनुपर्ने अडान राखेका थिए।
शेखरको गृह जिल्ला मोरङका जिल्ला सभापति डिगबहादुर लिम्बु र प्रकाशमानको गृह जिल्ला काठमाडौँका जिल्ला सभापति सबुज बानियाँले आ-आफ्ना नेताहरूको पक्षमा धारणा राखेका थिए। बैठक लगत्तै पौडेल अर्का नेता कृष्णप्रसाद सिटौलालाई भेट्न चन्डोलस्थित उनकै निवास पुगेका छन्। आफ्नो समूहबाट १४ औँ महाधिवेशनमा साझा उम्मेदवार तय गर्न सकस परिरहेका बेला पौडेल सिटौलालाई भेट्न पुगेका हुन्।