काठमाडौं। दुई मोर्चा संगठन र ६ दलीय गठबन्धनले मंसिर २८ गते संसद भवन घेराउ गर्ने निर्णय गरेको छ। बुधबार राजधानीमा बसेको गठबन्धनको बैठकले एमसीसीको विरोधमा मंसिर २८ गते संसद भवन घेराउ गर्ने निर्णय गरेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद अधिवेशन आह्वान गरेकी थिइन्।
सो अनुसार संघीय संसदको दुबै सदनको बैठक मंसिर २८ गते मंगलबार दिउँसो २ बजे बस्ने तय भएको छ।
सो बैठकमा एमसीसी अनुमोदनका लागि प्रस्ताव जानसक्ने चर्चाका बीच ६ दलीय मोर्चा तातेको हो।
छ दलीय मोर्चामा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी) माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालगायतका दल तथा मोर्चा संगठन रहेका छन्।गठबन्धनले मंसिर २४ गते राजधानीको माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गर्ने र मंसिर २७ गते नेपालस्थित एमसीएको कार्यालय घेराउ गर्ने निर्णय भएको छ।