शुक्रवार, आश्विन २३ गते २०८३

कांग्रेस महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा सुरु

शुक्रवार , मंसिर २४, २०७८

काठमाडौं। नेपाली कांग्रेसको १४औँ महाधिवेशन अहिले केहीबेरमा काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ। महाधिवेशनले आगामी ४ वर्षका लागि नयाँ नेतृत्वसहित १ सय ३४ सदस्यीय कार्यसमिति चयन गर्नेछ । ‘उत्साह, एकता, रूपान्तरण ः सफल बनाऔं नेपाली कांग्रेसको १४ औं महाधिवेशन’ मूल नाराका साथ सुरु हुन गईरहेको महाधिवेशनमा करिब ४ हजार ६ सय प्रतिनिधि सहभागी हुँदै छन् ।

यो संख्या १३ औं महाधिवेशनभन्दा करिब १ हजार ५ सयले बढी हो । पार्टीको संशोधित विधानअनुसार १ सय ६५ निर्वाचन क्षेत्र, २६ वटा भ्रातृ तथा शुभेच्छुक संस्था र २९ वटा विदेशस्थित जनसम्पर्क समितिबाट प्रतिनिधि निर्वाचित भएका छन् । भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट सहभागी हुने महाधिवेशन प्रतिनिधिको मताधिकार भए पनि उनीहरू उम्मेदवार हुन पाउने छैनन् । महाधिवेशन प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका होटलमा आवासको व्यवस्था गरिएको छ ।

उद्घाटनमा नेपालका सबै मुख्य राजनीतिक दलका प्रमुखहरुका साथै विदेशबाट भारतको भारतीय जनता पार्टी र कांग्रेस आईका प्रतिनिधिकोसमेत उपस्थिति रहने बताइएको छ । सहभागीलाई हेर्न सजिलोका लागि मञ्च बाहिर ठूला पाँच डिस्प्ले राखिएको छ । सञ्चारमाध्यमका लागि रिर्पोटिङ गर्न मञ्च नजिकै छुट्टै स्टेज बनाइएको छ । महाधिवेशनस्थल पार्टीका झण्डा र चुनाव चिह्न रुख अङ्कित झण्डाले सिँगारिएको छ भने त्यस वरपर विभिन्न स्थानमा स्वागत द्वार राखिएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार