आइतवार, श्रावण २४ गते २०८३

नेपाली कांग्रेसको १४ औं महाधिवेशन सभापति देउवाले गरे औपचारिक उद्घाटन

शुक्रवार , मंसिर २४, २०७८

काठमाडौं। नेपाली काँग्रेसको १४ औं महाधिवेशन औपचारिक रुपमा उद्घाटन भएको छ । राजधानीको भृकुटीमण्डपमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले पानसमा बत्ती बालेर महाधिवेशनको औपचारिक रुपमा उद्घाटन गर्नुभएको हो । 

कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा काँग्रेसका शीर्ष नेताहरुका साथै विभिन्न पार्टीका नेताहरुको सहभागिता रहेको छ । उद्घाटन समारोहमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, जसपा लोकतान्त्रिकका अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित विदेशी पाहुना समेतको उपस्थिति रहेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कार्यक्रममा जानकारी दिनुभयो । 

काँग्रेसको महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि चुनावी प्रक्रिया शनिबारदेखि सुरु हुनेछ । यस्तै मतदान आइतबार हुनेछ । काँग्रेसको सभापतिमा हालसम्म शेरबहादुर देउवा र विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरेका छन् भने रामचन्द्र पौडेल पक्षले भने उम्मेदवारको टुंगो लगाइसकेको छैन ।

तर अहिलेसम्म भएको छलफलमा नेता रामचन्द्र पौडेलर्ल समर्थन भएको दावी गरिएको छ । नेपाली कांग्रेसको सभापतिमा संस्थापन इतर समुहका रामचन्द्र पौडेलको पक्षमा समर्थन जुट्दै गएको दाबी गरिएको छ । सभापतिमा उम्मेदवारी घोषणा गरेका विमलेन्द्र निधिले समर्थन जनाएको बताइएसँगै पौडेलको पक्षमा समर्थन बढ्दै गएको दाबी गरिएको हो ।

सभापतिमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शेखर कोइराला नाम चर्चामा छ । 
यसैबीच, सभापति देउवाले महाधिवेशनको उद्घाटन सत्रमा काँग्रेसको एप पनि सार्वजनिक गर्नुभएको छ । सो एपमा पार्टीका नेता तथा क्रियाशील सदस्य, भ्रातृ संस्था, शुभेच्छुक संस्थालगायत सम्पूर्ण जानकारी उपलब्ध हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । 

प्रतिक्रिया
सम्बन्धित समाचार