काठमाडौं। नेपाली कांगैसका सभापतिका आकांक्षी बरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेनमा नीति र कार्यक्रममा छलफल नभएको र समयमा अधिवेशन गर्न नसकेको भन्दै पार्टी नेतृत्वको आलोचना गर्नुभयो । कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उहाँले विधिका लागि मात्र अन्तिम समयमा आएर महाधिवेशन गर्दा प्रभावकारी नभएको भन्दै एमालेको चितवन महाधिवेशन जस्तो आफ्नो महाधिवेशन हुन नसकेको गुनासो गर्नुभयो ।
उहाँले पार्टीलाई सक्षम बनाउन तयारीका साथ जानुपर्नेमा त्यसो हुन नसकेको भनाई राख्नु भयो । उहाँले देश गतिहीन र अवरुद्ध भएको भन्दै संसद चल्न नसकेको, सर्वोच्च अदालत अस्तव्यस्त भएको, सरकार गतिहीन भएको र देशमा आएको परिवर्तन अनुसार कांग्रेस अघि वढ्यो कि वढेन भनेर आत्मसमीक्षा र आत्ममूल्यांकन गर्ने बेला भएकोले यो अधिवशेनमा यसको समीक्षा गर्नुपर्ने भनाइृ राख्नुभयो ।
कांग्रेसको गौरवशाली इतिहास रहेको भन्दै उहाँले यतिवेला पार्टी बहुसंख्यक जनता पक्षमा हुनुपर्नेमा ३१ प्रतिशत भन्दा माथि समर्थन जुटाउन नसकेको भन्दै असन्तुष्टि जनाउनुभयो । पार्टीमा नैतिक शक्तिको उत्थान गर्न जरुरी रहेको भन्दै उनले पार्टीलाई विकृतिको अखडाबाट मुक्त गर्न सकेमात्र लोकतन्त्र सार्थक हुने भनाइृ राख्नुभयो ।