काठमाडौं। नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश समिति अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत चयन हुनुभएको छ । प्रदेश समितिको शनिबारबाट पोखरामा सुरु भएर आज बिहान सकिएको प्रथम अधिवेशनले गुरुङलाई अध्यक्षतामा चयन गरेको हो । अधिवेशनले अध्यक्ष सर्वसम्मत निर्वाचित गरे पनि अन्य पदाधिकारी भने चयन गरेको छैन ।
नवनिर्वाचित कमिटीको पहिलो बैठकले पदाधिकारी चयन गर्ने नवनिर्वाचित अध्यक्ष गुरुङले जानकारी दिनुभयो । नवनिर्वाचित गुरुङ माओवादी केन्द्र गण्डकी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकसमेत रहनुभएको छ । माओवादी केन्द्रले मङ्सिर २५ गते एकै दिन सात भौगोलिक प्रदेश र दुई गैरभौगोलिक प्रदेशको सम्मेलनको सुरु भएको थियो ।
त्यस्तै अध्यक्ष र पदाधिकारीबारे सहमति जुट्न नसकेपछि नेकपा माओवादी केन्द्र प्रदेश १ को अधिवेशन लम्बिएको छ । नयाँ नेतृत्वमा पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि अधिवेशन लम्बिएको हो । शनिबार सुरु भएको प्रदेश सम्मेलनले हिजै नेतृत्व चयन गर्ने कार्यतालिका थियो । तर, नेतृत्वका आकांक्षी धेरै भएपछि सहमति हुन नसक्दा अधिवेशन लम्बिएको हो । यद्यपि नयाँ नेतृत्वका लागि २६९ सदस्यीय कमिटी बनाउने सहमति जुटेको माओवादी केन्द्रले जनाएको छ । सदस्य पदमा सहमति भइसकेका सदस्यहरुको नाम आजै सार्वजनिक गर्ने जनाइएको छ ।