काठमाडौं। नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा पुन: निर्वाचित हुनु भएको छ । आज बिहान सम्पन्न निर्वाचनमा सभापतिका अर्का उम्मेदवार शेखर कोइरालालाई ८४८ मतले पछि पार्दै देउवा विजयी हुनु भएको हो । अन्तिम मपरिणाम अनुसार देउवाले २७ सय ३३ मत ल्याउनु भयो भने शेखरले १८ सय ८५ मत प्राप्त गरे। ३५ मत बदर भएको छ ।
दोस्रो चरणको निरर्वाचनमा कूल ४६ सय २३ मत खसेको थियो । १४ औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा पहिलो चरणमा सभापतिका पाँच जना उम्मेदवार मध्ये कसैले पनि ५० प्रतिशत भन्दा बढी मत नपाएपछि हिजो दोस्रो चरणमा निर्वाचन भएको हो । दोस्रो चरणको प्रतिस्पर्धामा विजयी हुँदै देउवाले दोस्रो पटक निर्वाचित सभापतिको रुपमा चार वर्ष पार्टीको नेतृत्व गर्ने अवसर पाउनु भएको हो ।
सोमबार सम्पन्न निर्वाचनमा देउवा, कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङबीच सभापतिमा प्रतिस्पर्धा भएको थियो । देउवा र कोइरालाले बढी मत पाएपछि दुई जना दोस्रो चरणको चुनावी प्रतिस्पर्धामा उत्रिनु भएको थियो । देउवालाई दोस्रो चरणको मतदानमा सिंह, निधी र गुरुङले समर्थन गर्नुभएको थियो ।