काठमाडौं। रक्षामन्त्री मीनेन्द्र रिजालले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । कांग्रेस महामन्त्रीमा प्रतिस्पर्धामा रहुनभएका रक्षामन्त्री रिजालले मतगणनाको परिणाम सार्वजनिक पछि प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने सामाजिक सञ्जालमार्फत घोषणा गर्नुभएको हो ।
रिजालले नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा आफुले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको उल्लेख गर्नुभएको छ । महामन्त्रीको मतगणना अनुसार गगन थापाको अग्रता कायमै छ भने दोस्रो स्थानमा विश्वप्रकाश शर्मा रहनुभएको छ । मिनेन्द्र रिजाल यो समाचार तयार पार्द सम्म ५४६ मतसहित ५ औँ स्थानमा रहनुभएको छ ।
३१२० मत गन्दा गगन थापाले सर्वाधिक २ हजार ३७ मत पाउनु भएको छ । यस्तै विश्वप्रकाश शर्माले १ हजार २ सय ५५ मत ल्याउनु भएको छ भने प्रकाशशरण महतले १ हजार २४ मत प्राप्त गर्नु भएको छ । प्रदिप पौडेलले ९ सय ३५ र मीनेन्द्र रिजालले ५४६ मत पाउनुभएको छ । यस्तै राजाराम कार्कीले ७५ मत ल्याउनु भएको छ ।