काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महिलातर्फ खुला केन्द्रीय सदस्यको मतगणना जारी छ । गएरातीदेखि नै सुरु गरिएको महिलातर्फ केन्द्रीय सदस्य पदका उम्मेदवारहरूको मतगणनालाई आज बिहानैदेखि निरन्तरता दिइएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । हिजो पुरुषतर्फ खुला केन्द्रीय सदस्यको मतगणना सकिएलगत्तै खुला महिला केन्द्रीय सदस्यको मतगणना थालिएको थियो ।
केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार हालसम्म झण्डै पाँच सय जनाको मतगणना सकिएको छ । तर प्रारम्भिक मतपरिणाम भने आज मात्रै सार्वजनिक गरिनेछ । कांग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा मतगणना चलिरहेको हो । खुला महिला केन्द्रीय सदस्यमा ९ जनाका लागि ३० जनाको प्रतिष्पर्धा छ । यसअघि हिजो पुरुष खुला केन्द्रीय सदस्यमा ९९ जनाबाट ३५ जना निर्वाचित भएका थिए ।