शुक्रवार, आश्विन २३ गते २०८३

नेकपा माओवादी केन्द्रको प्रदेश अधिवेशन : नेतृत्व चुन्न प्रदेश १ र बागमतीमा निर्वाचन हुने

सोमवार , पौष ५, २०७८

काठमाडौं। नेकपा माओवादी केन्द्र प्रदेश नम्बर १ र बागमती प्रदेशमा सहमतिको माध्यममार्फत नेतृत्व चयन गर्न असफल भएको छ । केन्द्रको नीतिअनुसार नै सबै प्रदेशमा सहमतिको माध्यमबाट नेतृत्व चयन गर्ने प्रयास हुँदै आएपनि कसैको नाममा सहमति जुट्न नसक्दा चुनावी प्रक्रियाबाट नेतृत्व चयन हुने भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति हुन नसकेपछि प्रदेश नम्बर १ र बागमतीमा चुनावी प्रक्रियाबाट नेतृत्व चयन गर्न निर्देशन दिनु भएको छ । माओवादी केन्द्र, प्रदेश १ को अध्यक्षसहित पदाधिकारीका आकांक्षी धेरै हुँदा अहिलेसम्म अध्यक्षसहित पदाधिकारीको टुंगो लाग्न सकेको थिएन । मोरङको विराटचोकमा गत मंसिर २५ र २६ गते सम्पन्न प्रदेश १ को प्रथम अधिवेशनले २७१ सदस्यीय कार्यसमिति चयन गरे पनि पदाधिकारी चयनलाई थाँती राखेको थियो ।

सुरुमा प्रदेश १ को अध्यक्षमा केन्द्रीय सदस्यहरू सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो र हेमराज भण्डारीले दाबेदारी प्रस्तुत गर्नुभएको छ । यता बागमती प्रदेशमा पनि २७१ सदस्यीय कार्यसमिति चयन गरिएको भनिएपनि अध्यक्षसहितको पदाधिकारी टुंगो लाग्न सकेको छैन । बागमतीको अध्यक्षको दौडमा सरल सहयात्री, काभ्रेका दिनानाथ गौतम, सिन्धुपाल्चोकका सरल सहयात्री, नुवाकोटका हिरानाथ खतिवडालगायत रहनु भएको छ ।

यी प्रदेशबाहेक प्रदेश २ मा पनि नेतृत्व चयन गर्न सकस परेको थियो । तर, अहिले प्रदेश कमिटीको टुंगो लगाएर पछि नेतृत्व घोषणा गर्नेगरी लालबन्दीको बन्दसत्रबाट आइतबार टुंगो लागेको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार