काठमाडौं। निर्वाचन आयोगले सञ्चालन गरेको पहिलो चरणको मतदाता नामावली दर्ताअन्तर्गत करिब चार लाख मतदाता थपिएका छन्। निर्वाचन आयोगका अनुसार हालसम्म देशभरबाट चार लाख सात हजारको नामावली दर्ता भएको छ। पहिलो चरणमा ३१९ पालिकामा मतदाता नामावली संकलन गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनु भयो ।
हिमाली जिल्लाको बाँकी रहेको पालिकामा मङ्सिर २९ गतेबाट नै दोस्रो चरणको नामावली दर्ता सुरु भइसकेको छ। हिमाली जिल्लाका पालिकाहरूमा पुस ९ गते नामावली दर्ताको विशेष अभियान सकिनेछ । मङ्सिर १७ गतेदेखि निर्वाचन आयोगले देशैभरिको पालिकामा पुुगेर मतदाता नामावली दर्ता विशेष अभियान सञ्चालन गरेको थियो ।
दोस्रो चरणमा हाल ३१८ पालिकामा मतदाता नामावली दर्ता कार्यक्रम भइरहेको निर्वाचन आयोगले जनाएको छ। आयोगले विशेष अभियानमार्फत करिब १० लाख मतदाता थपिने अनुमान गरेको छ। आयोगले १६ वर्ष उमेर पुुगेका नेपाली नागरिक मतदाता नामावली दर्ता अभियानमा विवरण संकलन गर्दैछ तर आयोगले तोकेको मितिमा १८ वर्ष उमेर पूूरा गर्ने व्यक्ति मात्रै मतदानका लागि योग्य हुनेछन् ।