निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पूर्व प्रधानन्यायाधीशहरुको समाजलाई पञ्चायतका मण्डलेहरुको समाजको संज्ञा दिएका छन् ।
महाभियोग सिफारिश समितिले सोधेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले आफूविरुद्ध विज्ञप्ति निकाल्ने पूर्वप्रधानन्यायाधीशहरुलाई मण्डलेको संज्ञा दिएका हुन् ।
‘पूर्व प्रधानन्यायाधीशहरुको होइन, त्यो त पञ्चायतका मण्डलेहरुको समाज यो,’ जबराले प्रधानन्यायाधीशहरुको समाजबारे भने ।
सर्वोच्च अदालतको भवन निर्माणमा अनियमितता भएको भन्दै सांसदहरुले प्रश्न गरेपछि जबराले त्यसको खण्डन गरे । सरकारले नै सर्वोच्च अदालतलाई निर्णय गर्नु भनेको उल्लेख गर्दै नियमसंगत तरिकाले काम गरेको दाबी गरे । उनले भने, ‘सर्वोच्च अदालतको भवन निर्माणका क्रममा सरकारले सर्वोच्च अदालतलाई नै निर्णय गर्नु भनेका कारण प्राप्त बोलपत्रमध्ये प्राविधिकरुपमा उपयुक्त एउटालाई मात्रै बोलपत्र स्वीकृत गरेको हुँ ।’
जबराविरुद्धको महाभियोगको बयानका लागि मङ्गलबार फेरि बोलाइएको छ । प्रतिनिधि सभाको कार्यकाल १ असोजमा सकिन लागेकाले त्यस अघि नै जबराविरुद्ध महाभियोगको प्रश्नहरु सोधिसक्ने लक्ष्य लिइएको छ । तर, महाभियोगबारे निर्णय नलिने गरी रणनीति देखिन्छ ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई राजीनामा दिए महाअभियोग फिर्ता लिन गठबन्धनका नेताहरूबाट प्रलोभन दिइएको बताएका छन् ।
संसदको महाअभियोग छानबिन समितिमा बयानका क्रममा आइतबार जबराले आफूपछिको न्यायाधीश दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउने बाटो खोल्न आफ्नो राजीनामाका लागि दबाब आएको बताए ।
उनले सत्ता गठबन्धनका नेताहरू शेरबहादुर देउवा र पुष्पकमल दाहालको तर्फबाट राजीनामा दिएपछि महाअभियोग फिर्ता लिने प्रस्ताव लिएर कांग्रेस नेतृ डिना उपाध्याय आफ्नो क्वार्टरमा आएको बताए । जबराले भने, ‘राजीनामा गर्ने हो भने हामीले महाभियोग फिर्ता लिइदिन्छौं ।
एक/डेढ महिना तपाइँ चलाउनुहोस्, त्यसपछि दीपक (कार्की) लाई दिनुहोस् भन्न शीर्ष नेता नै आएका थिए । प्रचण्ड र शेरबहादुर देउवालाई सोधेर आएको भन्दै डिना (उपाध्याय) जी मेरो क्वार्टरमै आएर भन्नुभएको हो । उहाँलाई सोध्दा हुन्छ ।’