सोलुखुम्बु । अर्थमन्त्री जनार्दन शर्माले केही वर्षमा विश्वका हजारौँ मानिस सगरमाथामा सेल्फी खिच्न आउने बताउनुभएको छ ।
सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिकाको केन्द्र मुक्लीमा ५० शैयाको सामुदायिक अस्पताल, गाउँपालिकाको प्रशासनिक भवन र बहु प्राविधिक शिक्षालय भवनको संयुक्त उद्घाटनका क्रममा मन्त्री शर्माले लगानी बोर्डमार्फत महत्त्वपूर्ण योजना अघि सारिएकाले आगामी दिनमा सगरमाथा हेर्न आउनेको ओइरो लाग्ने दाबी उहाँले गर्नुभयो ।
संविधानको रक्षामार्फत आर्थिक क्रान्तिमा होमिनुपर्ने भन्दै समाजवादी अर्थतन्त्रको आधार तयार गर्ने काम यस वर्षको बजेटले सुरु गरेको मन्त्री शर्माले बताउनुभयो । अबको अन्तिम लक्ष्य समाजवादी मुलुक निर्माण रहेको भन्दै सोही अनुसार मुलुकको अर्थतन्त्र चलायमान हुने उहाँको भनाइ छ ।
अब बाँझो जमिनमा खेती गर्ने योजना ल्याइएको र अधिकांश बजेट पालिकामार्फत आउने भएकाले जिम्मेवार भएर लाग्न उहाँले आग्रह गर्नुभयो ।