मंगलवार, आश्विन १३ गते २०८३

आसन्न निर्वाचनमा होमिएका व्यावसायिक प्रतिनिधिहरुलाई महासंघको स्वागत

बुधवार , कार्तिक २३, २०७९

काठमाडौं । आसन्न मंसिर ४ मा सम्पन्न हुन लागेको प्रतिनिधिसभा एवं प्रदेशसभाका उम्मेदवारहरुलाई निर्यात व्यवसायी महासंघ नेपालले स्वागत व्यक्त गरेको छ ।

यसपटकको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्यात व्यवसायी गणेश पराजुली एवं क्षेत्र नम्बर ३ बाट दुर्गा विक्रम थापा चुनावी मैदानमा होमिएका छन् । यसैगरी महासंघका अध्यक्ष राम बहादुर गुरुङ (गण्डकी प्रदेशका सांसद) र ललितपुरबाट महासचिव अमृत खड्का पनि चुनावी मैदानमा छन् ।

महासंघद्वारा आइतबार काठमाडौंमा आयोजना गरिएको एक विशेष कार्यक्रमका वक्ताहरुले निर्वाचनमा उम्मेदवारी दिएका पात्रहरुलाई शुभेच्छा व्यक्त गर्दै व्यवसायीहरु प्रत्यक्ष रुपमा निर्वाचन प्रणाली मार्फत नीतिगत स्थानमा पुग्न सकेको खण्डमा व्यवसायीहरुले व्यहोर्दै आएका समस्याहरु न्यूनीकरण हुँदै जाने बताएका छन् ।

शुभेच्छा प्रकट गर्न आयोजना गरिएको कार्यक्रममा व्यवसायीहरु दीपक प्रकाश बास्कोटा, उमेशलाल श्रेष्ठ, चण्डी ढकाल, हेमराज ढकाल, नरेशलाल श्रेष्ठ, शैलेन्द्र गुरागाईं, रविन्द्र शाक्य, रेखा अर्याल लगायतले आफ्नो धारणा व्यक्त गर्दै अहिले सम्म व्यवसायीहरुलाई राज्यले हेर्ने दृष्टिकोण सकारात्मक बन्न नसकेको बताए । साथै यस्तो स्थितिमा व्यावसायिक प्रतिनिधिहरु स्वतन्त्र तवरबाट निर्वाचित हुन सकेको खण्डमा नीतिगत परिमार्जन एवं व्यावसायिक प्रवद्र्धनमा ठूलै फड्को मार्न सहयोग पुग्नेमा विश्वास व्यक्त गरेका छन् ।

सोही कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका पात्रहरु गणेश पराजुली र दुर्गा विक्रम थापाले यसपटक मुलुकमा नयाँ सन्देश प्रवाह गर्ने उद्धेश्यले आफूहरु चुनावी मैदानमा खटिएको धारणा व्यक्त गरे ।

व्यवसायी गणेश पराजुली सफल युवा उद्यमी हुन् । नेपाल निर्यात परिषद् कार्यसमितिमा रहेका पराजुली सकारात्मक सोच र सृजनशिल स्वभावका प्रेरक व्यक्तित्वका रुपमा समेत चिनिन्छन् । उनले नेपालमा उत्पादित गाँजाबाट विभिन्न कपडाहरु उत्पादन गरी बाह्य बजारमा प्रवद्र्धन गर्दै आएका छन् ।

अर्का पात्र दुर्गा विक्रम थापा पश्मिना व्यवसायी हुन् । लामो समय नेपाल पश्मिना व्यवसायी संघमा विभिन्न भूमिका हुँदै अध्यक्षको भूमिका निर्वाह गरिसकेका थापा निर्यात व्यवसायी महासंघका वर्तमान उपाध्यक्ष समेत हुन् । उनी व्यावसायिक क्षेत्रसँगै राजनीतिलाई समेत शुद्धिकरण गर्दै लैजानुपर्ने पक्षमा छन् ।

यसैकारण आफूले नेपालको परिप्रेक्ष्यलाई विचार गरेर ‘घुषका विरुद्ध विष’ अभियान सञ्चालन गरेको थापा बताउँछन् ।

आफू मूलतः आर्थिक, सामाजिक र राजनीतिक एजेण्डा लिएर चुनावमा होमिएको थापाको धारणा छ । उम्मेदवारहरुलाई शुभेच्छा प्रकट गर्न आयोजना गरिएको कार्यक्रममा उपस्थित भएपश्चात् आफूलाई सबैजसो व्यवसायीहरुको नैतिक समर्थन रहेको महसुश भएको उनले बताए ।

जसले गर्दा आफूलाई चुनावी गतिविधिमा सक्रिय बन्न थप ऊर्जा मिलेको उनी बताउँछन् । साथै व्यावसायिक मित्रहरुबाट आफूले भौतिक सहयोगको समेत अपेक्षा गरेको धारणा उनले सोही कार्यक्रमको क्रममा बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार