काठमाडौं । महोत्तरीको औरही निवासी नेहा चौधरीको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई तुरुन्त कानूनीको दायरामा ल्याउन भन्दै मधेशी आयोगले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ ।
आयोगले उजुरी प्राप्त गरेपछि प्रहरी प्रधान कार्यालयलाई पत्राचार गर्दै घटनामा के कसो भएको हो ? छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याउन कारवाहीको प्रक्रिया अगाडी बढाउन र त्यसको बारेमा आयोगलाई पनि जानकारी गराउन निर्देशन दिएको हो ।
करिब ८ महिना पहिले महोत्तरीको रामगोपालपुर घर भएको डा.पंकज चौधरीसंग विवाह गरेकी नेहा चौधरीलाई दाइजोका नाममा श्रीमान र ससुराली पक्षले शारीरिक तथा मानसिक यातना दिएको आयोगमा उजुरी परेको छ । उक्त घटना सामाजिक संजालमा सार्वजनिक भएपछी नेहा माथि भएको अत्याचारको चर्को विरोध भइरहेको छ ।
तराई-मधेशमा दाइजोले गर्दा घरेलु हिँसाको समस्या यथावत रहेको र आयोगमा त्यस संग सम्बन्धित विभिन्न उजुरी आउने गरेको र ति समस्याप्रति आयोग गम्भीर रहेको आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले बताए । उनले सोचमा परिवर्तन र चेतनाको स्तर वृद्धि नभए सम्म यस्ता समस्याले समाजमा कैयो चेलीबेटी यातनाको शिकार बन्ने कुरा डरलाग्दो रहेकोसमेत बताए ।
प्रहरी प्रधान कार्यालयका अनुसार नेहा चौधरीले केहि समय पहिले नै जिल्ला प्रहरी कार्यालय महोत्तरीमा रहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्दमा जानकारी गराएकी थिइन् ।
केन्द्रमा पीडित र पीडकविच छलफल गराइएको थियो । तर, टुंगो नलागेपछि आफुमाथी घरेलु हिंसा भएको भन्दै उनले उजुरी गरेको नेपाल प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी नायव महानिरीक्षक ‘डीआईजीपी’ टेकप्रसाद राईले जानकारी दिए ।
उनका अनुसार पीडित महिलाले अदालतमा मानापाथी तथा अंश बण्डाको मुद्धा हालेको र पीडकले सम्बन्ध विच्छेदको मुद्धा अदालतमा दर्ता गराइसकेको छन् ।
घरेलु हिंसा विरुद्धको उजुरी परेपछि पीडकलाई २ दिन हिरासतमा राखेर छोडिएको र उच्च प्राथमिकताका साथ अनुसन्धान भइरहेको डीआईजीपी राईले बताए । मधेशी आयोगले पत्राचार गरेको भए पनि अहिलेसम्म कुनै पनि निकायबाट औपचारिक पत्र नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।