सोमवार, श्रावण २५ गते २०८३

‘ एकदिन त मर्नै छ, जनतालाई सूचना र समाचार दिँदादिँदै मरियो भने पनि एउटा इतिहास नै बन्छ -खोज पत्रकार शर्मा

सोमवार , कार्तिक २८, २०७९

काठमाडाैँ । ‘खोजी पत्रकारिता' निकै गाह्रो छ, थाहा छ तर पनि मैले ज्यानको बाजी लगाएको छु’ खोजी पत्रकारितामा कलम चलाइरहेका जीवन शर्मा भन्छन् ‘ एकदिन त मर्नै छ, जनतालाई सूचना र समाचार दिँदादिँदै मरियो भने पनि एउटा इतिहास नै बन्छ ।’ जीवनले पत्रकारितामा कसै सँग सहमति नगर्ने प्रतिबद्धता जनाएका छन् ।

विशेष गरी दृश्यमा खेलेर समाजको सही तस्विर जस्ताको त्यस्तै दिने उनको योजना अझै धेरै छ । ‘शब्दले मात्र मानिसलाई समाचारको गहिराइमा पु¥याउन नसकिने भएकाले दृश्य पनि थपेको हुँ’ उनले भने ‘तर समस्या के छ भने चाहिएको दृश्य खिच्न नै पाइदैन, कहिलेकाँही त लुकिछिपी खिच्नुपर्छ, कसैलाई केही चित्त बुझेन भने जे पनि हुन सक्छ ।’
निगरानी दैनिक डटकमका प्रधान सम्पादक उनी १७ वर्षदेखि पत्रकारिता गर्दै आएका छन् । सुरुका दिनमा सामान्य पत्रकारिता गरेका उनी समाचार खोज्ने क्रममा नै खोज पत्रकार बनेका हुन् ।

उनलाई यो काम त्यति सजिलो छैन र जोसुकैले गर्न पनि सक्दैन भन्ने पनि बुझेका छन् तर पनि गरिरहे । अरु धेरै पत्रकारहरु काठमाडौं उपत्यकालाई नै केन्द्रबिन्दु बनाएर पत्रकारिता गर्छन्, कतै जानुप¥यो भने अल्छी गर्छन् र अनेकन वहानाबाजी गर्छन् तर जीवनलाई भने काठमाडौंको मात्र पत्रकारिता साँघुरो भएको उनि बताउछन्।

‘बाहिर समाचारका धेरै विषय छन्, ओझेलमा परेका क्ुरा खोज्नुको आनन्द नै बेग्लै हुन्छ’ उनी भन्छन् ‘खोजी पत्रकारिता गर्दा सूचना लुकाइन्छ आफ्नो पक्षमा समाचार आउने छैन भन्ने बुझे भने समाचार स्रोतसँग भेट्न नै पाइदैन ।’ उनले समाचार लेखनका क्रममा धेरै ठाउँमा विभिन्न पक्षले दुःख दिएको पनि स्मरण गर्छन् ।

२०४१ सालमा गोरखाको दबुङ–६ मा जन्मिएका जीवनको बाल्यकाल पनि दुःखद् रहयो । पारिवारिक समस्याले पिरोलिए पनि उनले अध्ययन गर्न र आफ्नो लक्ष्य पूरा गर्न भने लम्कनु नै प¥यो । विगतलाई भरसक नसम्झन नै पाए हुन्थ्यो भन्छन् उनी ।

२०६० सालमा पोखरा एफ्एम्बाट पत्रकारिताको यात्रा थालेका उनले पोखरा टुडे, बुटवल एफएम्, न्यूज लाइन्स अनलायनजस्ता मिडियामा काम गरिसकेका छन् । उनले जहाँ जति काम गरे त्यहाँ आफ्नो रुचीको क्षेत्रलाई छोडेनन् र जता गए पनि खोजिरहे र सोधिरहे ।

नेपालका २ सय ७५ वटा स्थानीय तहमा पुगेर त्यहाँ भएको विकास निर्माणका राम्रा कामका साथै भइरहेका अनियमितताको पनि समाचार र भिडियो बनाएका उनलाई समाचार प्रकाशन र प्रशारण नगरिदिनु राम्रो अफर पनि नआएको होइन तर उनले त्यसलाई कुनै वास्ता गरेनन् ।

‘कुनै समाचारले कसैलाई बेइज्जत हुने लाग्यो भने रोक्नलाई जस्तोसुकै महंगो आश्वासन पनि दिइन्छ तर कहिल्यै पनि पैसामा बिकिन र त्यतातिर सोच्दै सोचिन’ उनले विगत र वर्तमान सम्झँदै भने ‘ भौगोलिक विकटता रहेका क्षेत्रमा जाँदा कति दिन हलचल गर्न नै नसक्ने भएको छु ।’

जीवन भ्रष्टाचार, विकृति र विसंगतिको विरुद्धमा कलम चलाउँदै दृश्य पस्कने गर्छन् । समाचार स्रोतले यथार्थ सूचना नदिँदा उनलाई कहिलेकाँही दुःख पनि लागेको छ ।

‘राजनीतिक पहुँचले सूचना लुकाउन खोज्नु त सामान्य हो, संकलन गरेको समाचारमाथि पनि बेलामौका आक्रमण हुन्छ’ उनले भने ‘ जे जस्तो समस्या परोस् मतलव छैन, आफ्नो लाइन छोडिँदैन ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार