सोमवार, श्रावण २५ गते २०८३

नेपालले पायो १७७ रनको लक्ष्य

शुक्रवार , मंसिर २, २०७९

काठमाडौं । युएईसँगको शृंखलाअन्तर्गत तेस्रो तथा निर्णायक एकदिवशीय अन्तर्राष्ट्रिय खेलमा नेपालले १७७ रनको लक्ष्य पाएको छ । यसअघिका दुई खेलमा १–१ को बराबरी रहेकाले यो खेलको विजेताले दुईदेशीय शृंखला जित्नेछ ।

आयान खान र हजरत विलालले अन्तिम विकेटका लागि ८३ रनको अविजित साझेदारी गरेपछि टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित ओभरमा ९ विकेट गुमाएर १७६ रनको योगफल खडा गरेको हो ।

खराव सुरुवात गरेको युएईमाथि नेपालका बलरहरुले दवाव राखेका थिए । ३१.१ ओभरमा ९३ रनको स्कोरमा नवौं विकेट गुमाएको युएईलाई एक सय रनको योगफल बनाउन पनि कठिन हुन थालेको थियो ।

तर, आठौं नम्बरमा आएका आयन खान र एघारौं नम्बरमा आएका हजरतले पूरा ओभर खेलेर युएईलाई सम्मानित अवस्थामा पुर्याए । आयनले ६३ बलमा खेलेर ७ चौका र १ छक्कासहित ५४ रनको अर्धशतकीय पारी खेले । हजरतले ५४ बलमा २० रन बनाए ।

यसअघि सुरुवाती तीन विकेट सस्तैमा गुमाएको युएईका लागि रोहन मुस्तफाले २४ तथा अलिसन शराफुले ३३ रन जोडे । यी दुईले चौथो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए ।

७ जना बलर प्रयोग गरेको नेपालका लागि गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले २–२ विकेट लिए । सोमपाल कामी र ललित नारायण राजवंशीले १–१ विकेट लिए ।

तीन खेलको शृंखलाको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो भने दोस्रो खेलमा नेपालले ३ विकेटको जित निकालेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार