काठमाडौं। महोत्तरीमा स्थानीय र प्रहरीबीच झडप हुँदा ४ प्रहरी घाईते भएका छन् । जिल्लाको रामगोपालपुर ५ मा मंसिर २६ गते घरेलु हिंसा मुद्दामा जिल्ला अदालत महोत्तरीले संरक्षणात्मक आदेश गरेपछि माइतबाट घर फर्किएकी नेहा चौधरीले प्रवेश नपाएको विषयलाई लिएर सुरु भएको आन्दोलनले झडपको रुप लिएको हो ।
घरमा प्रवेश नपाएपछि नेहा आफ्ना श्रीमान् डा. पंकज चौधरीको घरको गेटमै धर्ना बसेकी थिइन् । नेहाले पंकजको घरमा प्रवेश पाउनुपर्ने माग राख्दै गरिएको आन्दोलनमा आन्दोलनकारीहरूले ढुङ्गामुढा गर्न थालेपछि २ जना सशस्त्र प्रहरी, १ जना नेपाल प्रहरी र १ जना नगरप्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउन्ड अश्रुग्याँस प्रहार गरेको प्रहरीले जनाएको छ।
आन्दोलनकारीको ढुङ्गामुढाबाट नगरपालिकाका कर्मचारीसमेत घाइते भएको सूचना आएको भए पनि आधिकारिक जानकारी नआएको प्रहरीले जनाएको छ।
पंकजको परिवारले गेटमा ताला लगाएर घर नै छाडेर हिँडेपछि नेहाले उक्त घरमा प्रवेश पाउनुपर्ने माग गर्दै आन्दोलन सुरु गरेको आन्दोलनमा सहभागीले बताएका छन्।
डा. चौधरीलाई नियन्त्रणमा लिएर नेहाको दाइजो मुद्दामाथी थप अनुसन्धान गरिरहेको समयमा नआवश्यक आन्दोलन चर्काएको भन्दै प्रहरीले नेहा चौधरी र नेहारिका राजपुतलाई समेत अहिले नियन्त्रणमा लिएर आन्दोलन मत्थर बनाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले जानकारी दिए।