आइतवार, श्रावण २४ गते २०८३

सर्वत्र विरोधपछि एमडिएमएस प्रणाली लागु गर्ने निणर्यबाट पछि हट्यो सरकार

शुक्रवार , पौष १५, २०७९

काठमाडौं। सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)को पूर्ण कार्यान्वयन तत्कालका लागि स्थगित गरेको छ । विदेशबाट फर्किने नेपालीले ल्याउने मोबाइलको व्यवस्थाबारे अन्योल भएपछि तत्कालका लागि उक्त सिस्टमको कार्यान्वयन स्थगित गरिएको हो ।

दूरसन्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले विदेशबाट ल्याइएका मोबाइल दर्ता गर्नैपर्ने व्यवस्थालाई अनिवार्य नगरिएको बताए। सरकारले विदेशबाट उपहारमा मोबाइल ल्याउँदा भन्सार विन्दुमा प्रज्ञापनपत्र लिनुपर्ने व्यवस्था तत्कालका लागि स्थगित गरेको छ ।

भन्सार विभागले विमानस्थल भन्सार कार्यालयलाई आजबाट जारी गर्ने भनिएको प्रज्ञापनपत्र जारी नगर्न निर्देशन दिएको हो । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेका अनुसार आजबाट विदेश बाट आउनेहरुले आफ्नो प्रयोगमा रहेको एउटा मोबाइल स्वघोषणा गरेर निःशुल्क प्रज्ञापनपत्र लिने र दोस्रो मोबाइलको भन्सार शुल्क तिरेर मात्रै प्रज्ञापनपत्र लिने व्यवस्था कार्यान्वयन नगरिएको बताए।

यसअघि सरकारले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम -एमडीएमएस पूणर् प्रयोगमा ल्याउँदै विदेशबाट आउने मोबाइल नेपालमा दर्ता गर्नका लागि भन्सार विन्दुमा प्रज्ञापनपत्र दिने व्यवस्था गरेको थियो ।

यसैअनुसार विदेशबाट आएका यात्रुले बोकेको पहिलो मोबाइलको दर्ताका लागि निःशुल्क प्रज्ञापनपत्र जारी गर्ने र दोस्रोको लागि १८ प्रतिशतसम्म भन्सार तिरेर प्रज्ञापनपत्र लिने व्यवस्था गरिएको थियो ।अब पनि दुई भन्दा बढी मोबाइल ल्याएमा भने भन्सारले जफत गर्ने नियम विद्यमान रहनेछ ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न अर्थमन्त्रालयलाई निर्देशन दिएका थिए।

विदेशबाट एकथान मोबाइल ल्याउँदा पनि सरकारले १८ प्रतिशत कर लिन लागेको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले ‘नो रेमिट्यान्स’ ह्यासट्याग प्रयोग गर्दै विरोध समेत जनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार