शुक्रवार, आश्विन २३ गते २०८३

सिंहदरबारमा नागरिकको सहज पहुँच पुर्‍याउन प्रधानमन्त्री र गृहमन्त्रीबीच छलफल

शनिवार , पौष १६, २०७९

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा सरकारको नीति तथा कार्यक्रम र आगामी रणनीतिबारे छलफल गरेका हुन्।

उनीहरुबीच शक्ति बाँडफाँड र मन्त्रालय बाँडफाँडको बारेमा पनि छलफल भएको बुझिएको छ । गृहमन्त्री लामिछानेले सिंहदरबारमा नागरिकको सहज पहुँच पुर्‍याउन प्रधानमन्त्रीसँग आग्रह गरे। आम नागरिकलाई सिंहदरबार प्रवेश गर्न सक्ने वातावरण बनाउन भन्दै लामिछानेले क्रियाशीलता जनाएका हुन्।

हाल सिंहदरबार प्रवेशका लागि पासको व्यवस्था गरिएको छ । भेटका क्रममा कोरोना संक्रमण व्यवस्थापनका लागि सीमा क्षेत्रमा सावधानी अपनाउने, हवाई र स्थलमार्गबाट आउने पर्यटकलाई ध्यानमा राखी स्वास्थ्य डेस्क र होल्डिङ सेन्टर स्थापना गर्ने विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

तराईमा शीत लहर र हिमाली क्षेत्रमा हिमपातको व्यवस्थापन सहज रुपमा गर्न आवस्यक तयारी गर्ने विषयमा समेत कुराकानी भएको छ । भेटका क्रममा गृहमन्त्री लामिछानेले राजस्व चुहावट नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गर्दै अर्थमन्त्रालयसँग समन्वय गरी काम अघि बढाउने बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार